समृद्धिका लागि राजनीति स्थिरता अपरिहार्य: प्रधानमन्त्री ओली
काठमाडौं । नयाँ वर्ष सन् २०२१ को अवसरमा आज भिडियो सन्देश दिँदै प्रधानमन्त्री ओलीले समृद्ध नेपालको आकांक्षा पूरा गर्नका लागि स्थिर राजनीति अपरिहार्य रहेको बताएका छन् ।
मुलुकलाई विकास र समृद्धिमा लैजाने काममा अनेक व्यवधान सामना गर्नु परेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भनेका छन् ‘हामी समृद्ध देश निर्माण गरी जनतालाई सुखी बनाउने राष्ट्रिय आकांक्षा पूरा गर्ने गन्तब्य तय गरी अघि बढिरहेका छौँ । समृद्ध नेपाल, सुखी नेपालीको यो राष्ट्रिय आकांक्षा पूरा गर्न स्थिर राजनीति अपरिहार्य छ ।’
आगामी दिनमा सुशासन र विकासको बाटोबाट अघि बढ्ने पनि उनले प्रतिवद्धता जनाएका छन् ।
‘हामीले मुलुक र जनताको दीर्घकालीन हितमा अगाडि बढाएका पाइलालाई गन्तब्यतर्फ थप गतिशील बनाएका छौँ । राष्ट्रिय समृद्धि तर्फका हाम्रा पाइला आगामी वर्षमा अझ दृढतापूर्वक उचाइमा पुग्ने छन् भन्ने म तपाईंहरूलाई विश्वास दिलाउन चाहन्छु,’ उनले भने।
अर्को नयाँ वर्षको संघारमा पुग्दासम्म विकास र समृद्धि थप उचाइमा पुग्ने प्रधानमन्त्री ओलीको भनाइ छ।