१० मंसिर २०८१, सोमबार

भैरहवा–भरतपुर उडान शुरु



चितवन। देशका प्रमुख चार पर्यटकीय गन्तव्य काठमाडौँ, पोखरा, चितवन र लुम्बिनी हवाई उडानमार्फत जोडिएका छन् । चारै गन्तव्यमा बुद्ध एयरले हवाई सेवा सञ्चालन गरेसँगै यी महत्वपूर्ण गन्तव्य हवाई सेवामार्फत जोडिएका हुन् । भरतपुर–भैरहवा उडान शुरु भएसँगै चार गन्तव्य जोडिएका हुन् । बुद्ध एयरले आइतबारदेखि भरतपुर–भैरहवा उडान थालेको हो ।

बुद्ध एयरलाइन्स भरतपुरका प्रबन्धक भक्तबहादुर बस्नेतका अनुसार भरतपुर–काठमाडौँ दैनिक नौ वटा उडान हुँदै आएको छ ।
भरतपुर–पोखरा दैनिक एउटा र भरतपुर–भैरहवा हप्ताको तीन उडान भर्न थालिएको छ । आइतबार, बुधबार र शुक्रबार उडान थालिएको उनले जानकारी दिए ।

बस्नेतले भने, “पर्यटकीय गन्तव्यसँगै उपचारका लागि भरतपुर आउन सहज भएको छ ।” यससँगै नारायणगढ–बुटवल सडक विस्तार भइरहेकाले यात्रुलाई सहज भएको उनको भनाइ छ । क्षेत्रीय होटल सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरेले भारतीय पर्यटक नेपाल आउन भैरहवा–भरतपुर उडान प्रभावकारी हुने बताए । देशका चार प्रमुख पर्यटकीय गन्तव्य उडानमार्फत जोडिँदै गर्दा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !