कांग्रेसको महाधिवेशन सर्यो,अब कहिले हुन्छ ?
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको १४ औँ महाधिवेशन फेरि सरेको छ । काङ्ग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निजी निवासमा आज सम्पन्न पार्टी केन्द्रीय कार्यसमिति बैठकले भदौ १६ देखि १९ गतेसम्म गर्ने भनिएको महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म गर्ने निर्णय गरेकाे केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिए ।
तीन दिनसम्म चलेको बैठकले यसअघि निर्धारित मितिमा महाधिवेशन हुन नसक्ने देखिएपछि महाधिवेशनको नयाँ मिति तोकेको हो । केन्द्रीय सदस्य यादवका अनुसार भदौ १८ मा वडा अधिवेशन गर्ने निर्णय भएको छ। क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने मिति भदौ २ गते रहेको छ भने निर्वाचन निर्देशिका बुझाउने मिति पनि भदौ २ गते नै तोकिएको छ ।
त्यसैगरी प्रदेशको क र ख क्षेत्रको अधिवेशन असोज १ गते हुनेछ । संघीय क्षेत्रको अधिवेशन असोज ५ गतेका लागि तय भएको छ । जिल्लाको अधिवेशनको असोज १० गते हुनेछ भने प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म हुने ती सदस्यले बताए ।