राष्ट्रियसभाको हिउँदे अधिवेशन सुरू, पहिलो दिनसबै दलका नेताले सम्बोधन गर्ने
काठमाडौं । राष्ट्रियसभाको हिउँदे अधिवेशन आज सुरू हुँदैछ ।
प्रतिनिधि सभा विघटित भइसकेको अवस्थामा सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान गरेपछि राष्ट्रिय सभाको बैठक आज दिउँसो ४ बजे बस्न लागेको हो ।
हिउँदे अधिवेशनको पहिलो दिनको बैठकमा सबै दलका नेताहरुले सम्बोधन गर्ने कार्यसूची तय भएको छ ।
बिहीबार बसेको राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची तय गर्दै आजको बैठकमा राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने दलका नेताबाट सम्बोधन गर्ने निर्णय गरेको हो ।
बैठकको शुरुमै अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको पत्र पढेर सुनाउनेसँगै मन्त्रिपरिषद् पुनर्गठन सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रसमेत सभामा पेश हुनेछ ।
सभामा अध्यादेशहरु समेत टेवल हुने र विभिन्न समितिका प्रतिवेदनसमेत पेश गर्ने कार्यसूची तय भएको छ ।
तर संविधान, कानून र संसद् नियमावलीले राष्ट्रियसभाले बनाउने कानूनलाई प्रतिनिधिसभाले पारित गरे मात्र अन्तिम रूप पाउने व्यवस्था गरेकाले थप कानून नबन्ने निश्चित भएको छ ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि सरकारले वैशाख १७ र २७ का लागि मध्यावधि चुनाव घोषणा गरेको छ ।
सरकारको सो कदमविरूद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधिन छ । सोही प्रकरणपछि सत्तारूढ नेकपा विभाजन भएको छ । यद्यपि त्यसले वैधता पाइसकेको छैन ।
दाहाल(नेपाल समूह र ओली समूहबीचको समान्तर बैठकले पुस ५ को प्रकरणको विरोध र बचाउ गरिरहेका छन् ।
यो विषयले राष्ट्रियसभामा पनि प्रवेश पाउने देखिएको छ । दाहाल(नेपाल समूहका सदस्यहरूले सरकारको पुस ५ को कदमको आलोचना गर्नेछन् ।
पार्टीभित्र अप्ठ्यारोमा परेपछि यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले असार १८ गते दुवै सदनका अधिवेशन अन्त्यको सिफारिस गरेका थिए । तर, यसबीचमा प्रतिनिधिसभा नै विघटन भएपछि नेपालको राजनीतिले नयाँ मोड लिएको छ ।
प्रतिनिधिसभा विघटन भए पनि राष्ट्रियसभाको एकल अधिवेशन बस्ने संवैधानिक व्यवस्थाका कारण अधिवेशन सुरू हुन लागेको हो । संविधानको धारा ९३ मा भनिएको छ, ‘यस संविधानबमोजिम राष्ट्रपतिले समय–समयमा दुवै वा कुनै सदनको आह्वान गर्नेछ।’
राष्ट्रियसभा सचिवालयका अनुसार ६ वटा विधेयक सभामा प्रस्तुत हुन बाँकी छन् । १० वटा विधेयक विभिन्न समितिमा छलफलका क्रममा छन् ।