८ मंसिर २०८१, शनिबार

निषेधाज्ञा खुकुलो भएसँगै चितवनमा बढे कोरोना सङ्क्रमित



चितवन । जिल्लामा निषेधाज्ञा खुकुलो भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको छ। स्वास्थ्य कार्यालय चितवनले आज यहाँ पत्रकारसँग भर्चुअल माध्मबाट आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सो सम्बन्धी तथ्याङ्क सार्वजनिक गरिएको हो।

कार्यालयका अनुसार गत फागुनमा ९६ जना सङ्क्रमित रहेकोमा क्रमशः बढेर वैशाखमा सो सङ्ख्या चार हजार १७७ पुगेको थियो। वैशाखमा निषेधाज्ञा गरिएसँगै सङ्क्रमितको सङ्ख्या क्रमशःघट्दै गएको थियो।

कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार वैशाख १५ गतेदेखि लागू गरिएको निषेधाज्ञाका कारण जेठमा सो सङ्ख्या घटेर तीन हजार ८८१ मा झरेको थियो। सो सङ्ख्या असारमा तीन हजार ४२ मा झरेको उनले जानकारी दिए। साउन महिनाको २४ गतेसम्म आइपुग्दा पुनः सङ्क्रमित बढेका छन् । साउनमा मात्रै तीन हजार ९५१ जना सङ्क्रमित भएको उनले बताए।

उनका अनुसार वैशाख महिनादेखि साउन २४ गतेसम्म ६६ हजार ३८४ जनाको पिसिआर विधिबाट गरिएको कोरोना परीक्षणका क्रममा पाँच हजार ६०३ जनामा सङ्क्रमण पुष्टि भएको छ।

यस्तै एन्टिजेन विधिबाट सात हजार ७५९ को परीक्षण गरिएकोमा दुई हजार ७०१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। जिल्लामा रहेका विभिन्न अस्पतालमा उपचारका लागि आएका र लक्षण देखिएर परीक्षणका लागि आएकामध्येबाट सो सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।

यहाँ सङ्क्रमित हुनेमध्ये सबैभन्दा बढी २० देखि २९ वर्ष उमेर समूहका रहेका छन्। यस समूहका दुुई हजार ४१० जना पुरुष र दुई हजार ६४२ जना महिला रहेका छन् । अन्य उमेर समूहमा भने पुरुष धेरै सङ्क्रमित हुने गरेको तिवारीले जानकारी दिए।

यस्तै ३० देखि ३९ वर्ष उमेर समूहको दोस्रो, ४० देखि ४९ उमेर समूहको तेस्रो र ५० देखि ५९ वर्ष उमेर समूहका चौंथो क्रममा रहेको सो अवसरमा जानकारी दिइयो। जिल्लामा बालबालिका र ८० वर्ष भन्दामाथिको उमेरका कम सङ्ख्यामा सङ्क्रमित हुने गरेका छन्।

जिल्लामा स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाका समयमा भन्दा खुकुलो भएको समयमा सङ्क्रमित स्थानीय तहमा बढेको छ । पूर्ण निषेधाज्ञाको समय अवधि वैशाख १५ गतेदेखि असार १४ गतेसम्म भरतपुर महानगरपालिकामा ६ हजार ३०६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो।



प्रतिक्रिया दिनुहोस !