बालविवाह अन्त्यका लागि स्थानीय सरकारको चासो
राँझा । बाँकेमा समस्याको रुपमा रहेको बालविवाह अन्त्यको लागि स्थानीय सरकारले चासो देखाएका छन् । नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, बैजनाथ, खजुरा र जानकी गाउँपालिकाले बालविवाह विरुद्ध वडास्तरमा अभियान सञ्चालन गरी बालविवाहमुक्त वडा घोषणा गर्दै आएका छन् ।
कोहलपुर नगरपालिकाले अबको एक वर्षभित्र सबै वडा बालविवाहमुक्त वडा घोषणा गर्ने गरी अभियानलाई अगाडि बढाएको नगरप्रमुख लुटबहादुर रावतले जानकारी दिए । सो नगरपालिकाले बालविवाहमुक्त अभियान निर्देशिका २०७६ अनुसार नगरका सबै वडालाई बालविवाहमुक्त गर्ने गरी सचेतना अभियान सञ्चालन गर्नुका साथै सरोकारवाला निकायसँग आवश्यक छलफलका साथ अगाडि बढेको उनको भनाइ छ ।
“गतवर्षको चैत १९ गतेका दिन कोहलपुर नगरपालिकाले एकैदिन वडा नं १२ र वडा नं। १३ लाई बालविवाहमुक्त वडा घोषणा गरेका थियौंँ”, उनले भने,“अहिले वडा नं १ लाई पनि बालविवाह वडामुक्त घोषणा गरी अर्को सफलता पाएका छौं भने अब केही दिनमानै वडा नं ३ लाई पनि बालविवाहमुक्त वडा घोषणा कार्यक्रम गरिने छ ।”
बालविवाह घरेलु हिंसाको प्रमुख कारण रहेकोले यसको अन्त्यको लागि गाउँपालिकाले अभियान सञ्चालन गरिरहेको बैजनाथ गाउँपालिकाका उपाध्यक्ष शारदा विश्वकर्माले बताईन् । हालसम्म गाउँपालिकाको एउटा वडा बालविवाहमुक्त घोषणा गरिसकेको र छिट्टै अर्का वडा पनि घोषणा गर्ने तयारीमा रहेको उनको भनाइ छ ।
खजुरामा वडास्तरबाटै बालविवाह विरुद्धको अभियान सञ्चालन भएको गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताए । वडालाई बालविवाहमुक्त गर्न बनेको कार्यविधिको मापदण्डअनुसार अभियान सञ्चालन भइरहेको बताउँदै छिट्टै गाउँपालिकालाई नै बालविवाहमुक्त गाउँपालिका घोषणा गर्ने योजनाका साथ काम भइरहेको अध्यक्ष कक्षपतिले उल्लेख गरे ।
विसं २०६८ को जनगणना अनुसारमा बाँकेमा ६६.०८ प्रतिशत बालविवाह रहेको छ । सामाजिक परम्परा र प्रेम गरेर बालविवाह गर्ने क्रम अझै रोकिएको छैन । जनचेतनाको कमी, जातीय विभेद, आर्थिक अभाव, गरिबी, र बेरोजगार, सामाजिक परम्परा, अशिक्षा, धर्म र संस्कार, कुसंस्कार, पुरानो रीतिरिवाज, पुरुष प्रधान समाज, पारिवारिक दबाब, कानून थाहा नपाएर, साथीहरुको देखासिकी र प्रेम विवाह, सामाजिक सञ्जाल र मोबाइल दुरुपयोगलगायत कारणले बालविवाह हुँदै आएको जिल्ला समन्वय समितिका प्रमुख अजय श्रीवास्तवले बताए ।
स्याक नेपाल बाँकेले बालविवाह रोकथाम परियोजनामार्फत वडास्तरमा स्थानीय तहले सञ्चालन गरेको बालविवाह विरुद्धको अभियानमा साझेदारी गर्दै आएको छ । परियोजनाको सहयोगमा जिल्लामा हालसम्म पाँच स्थानीय तहका १० वटा वडा बालविवाहमुक्त घोषणा भइसकेको संस्थाका अध्यक्ष शिवलाल पाण्डेले जानकारी दिए ।
उनका अनुसार, नेपालगञ्ज उपमहानगरपालिका– ४ वटा वडा, कोहलपुर नगरपालिकाका– ३ वटा वडा, खजुरा, बैजनाथ र जानकी गाउँपालिकाका एक एक वटा वडा बालविवाहमुक्त घोषणा भइसकेका छन् । कोहलपुर नगरपालिकाको वडा नं ३, बैजनाथको वडा नं ५ र जानकीको वडा नं १ मा बालविवाहमुक्त घोषणा गर्ने तयारी भएको छ ।
वडालाई बालविवाहमुक्त घोषणा गर्न स्थानीय तहमा बालअधिकार समिति गठनसम्बन्धी कार्यविधि, बालविवाह अन्त्य सम्बन्धी रणनीति, बाल संरक्षण नीति र पालिका बालअधिकार संरक्षण समिति तथा विद्यालय र वडास्तरमा बालअधिकार समिति क्रियाशील रहेको छ ।
बालविवाहमुक्त अभियान सञ्चालन निर्देशिका अनुसार, वडामा २० प्रतिशत भन्दा कम बालविवाह भए बालविवाहमुक्त घोषणा हुने प्रावधान रहेको स्याकका अध्यक्ष पाण्डेले जानकारी दिए । बाँकेलाई बालविवाहमुक्त गर्न प्लान इन्टरनेशनल नेपालले जिल्लाका आठवटै स्थानीय तहसँगको सहकार्यमा स्याक नेपाललाई बालविवाह रोकथाम परियोजना सञ्चालन गर्न सहयोग गरेको छ । सो परियोजनाले आर्थिक वर्ष २०७७/७८को असार मसान्तसम्म जिल्लामा कम्तीमा पनि २० वडालाई बालविवाहमुक्त घोषणा गर्ने लक्ष्य रहे पनि कोरोना भाइरस महामारीका कारण प्रभावित हुन पुगेको स्याकका अध्यक्ष पाण्डेले बताए । -रासस