सरकारले सार्वजनिक गर्यो न्यूनतम साझा कार्यक्रम, समग्रहमा यस्तो छ
काठमाडौं । आज सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको छ । गठबन्धनमा रहेका नेताहरुले आइतबार कार्यक्रम सार्वजनिक गरेका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो ।
स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानबिन गर्ने र दोषी देखिएका व्यक्ति तथा संस्थालाई कारबाही गर्ने न्यूनतम साझा कार्यक्रममा उल्लेख छ ।
यस्तै असोज मसान्तसम्म एक तिहाई जनसंख्यालाई कोरोनाविरुद्धको खोप लगाइसक्ने योजना पनि कार्यक्रममा समावेश गरिएको छ । आगामी चैत मसान्तसम्म सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाईसक्ने साझा कार्यक्रममा उल्लेख गरिएको छ।
त्यसैगरी सामाजिक आर्थिक रूपान्तरणको आधार निर्माण गर्दै उच्च समन्वयायिक विकासमा जोड दिने विषयलाई पनि सरकारले प्राथमिकतामा राखेको उल्लेख गरेको छ ।
उत्पादनमुखी अर्थतन्त्रमा जोड,आपूर्ति व्यवस्थामा सुधार, महँगी नियन्त्रण तथा भ्रष्टाचारको छानबिन र कारबाहीका लागि अग्रसरता लिने पनि सरकारको साझा कार्यक्रममा समेटिएको छ । त्यस्तै कोभिड १९ कारण सङ्कटग्रस्त उद्योग, पर्यटन, सञ्चार, यातायात,पार्टी प्यालेस, व्यायामशाला, सिनेमा तथा मनोरञ्जन लगायतका उद्योगहरूको उत्थान तथा बेरोजगारका लागि आर्थिक प्याकेज ल्याउने र बाढी पहिरो लगायतका पीडितलाई राहत तथा पुनर्स्थापना गर्ने रहेका छन् ।