८ मंसिर २०८१, शनिबार

संक्रमणदर बढ्यो, उपत्यकाका अस्पताल भरिए



काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै अस्पताल भर्ना हुने बिरामी पनि ह्वात्तै बढेका छन् । पछिल्लो पटकको निषेधाज्ञा खुकुलो भएसँगै जनस्वास्थ्यका मापदण्डमा कडाई नहुँदा केही दिनयता दिनहुँजसो बिरामी बढेका हुन् ।कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल), शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, पाटन अस्पताल, शिक्षण अस्पताललगायत संस्थामा बिरामीको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको छ ।

दैनिक सङ्क्रमित बढेपछि कोभिड–१९ उपचारका लागि छुट्याइएका सघन उपचारकक्ष (आइसीयु), हाइडिपेन्डेन्सी युनिट (एचडीयु), भेन्टिलेटर र साधारण शैया भरिएका छन् । सशस्त्र प्रहरी बल अस्पतालका डा प्रवीण नेपालले अस्पतालका सबै शैया भरिएको जानकारी दिए । उनका अनुसार १० दिन यतादेखि बिरामीको सङ्ख्या बढ्दै गएपछि शैया भरिएका हुन् । “सङ्क्रमितहरु आउने क्रम बढेकाले हामीसँग भएका २०० शैया भरिन्छन् होला”, उनले भने, “अहिले बिरामी पनि पहिलेका जस्तै श्वास फेर्न गाह्रो हुने, ज्वरो आउने समस्या रहेको छ ।”

उनका अनुसार आइसीयूमा २०, एचडीयूमा ५० र साधारण शैयामा १३० जना बिरामी रहेका छन् । अहिले सङ्क्रमणको दोस्रो लहर चलिरहेको छ । दोस्रो लहर गत चैतबाट शुरु भएको हो । दोस्रो लहरसँगै बिरामी बढ्न थालेका हुन् । दोस्रो लहरमा सङ्क्रमितलाई ज्वरो आउने, निमोनिया हुने, श्वासप्रश्वासमा समस्या आउनेजस्ता समस्या देखिएको छ । सङ्क्रमणको दोस्रो लहर गत वैशाख अन्तिम सातामा उच्च विन्दुमा पुगेको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निषेधाज्ञा खुला राखेर जनस्वास्थ्यका मापदण्ड लागू नगरेमा असोज १५ पछि सङ्क्रमणको तेस्रो लहर आउने चेतावनी दिएको छ ।



प्रतिक्रिया दिनुहोस !