बाढी पीडित भन्छन् :बाढीले ढुङ्गा बगाउदा भूकम्प जसरी थर्काउछ निन्द्रा लाग्दैन
सिन्धुपाल्चोक । असार १७ गतेदेखिको निरन्तरको बाढीले पहिरोसमेत आउँदा मेलम्ची र हेलम्बुका झण्डै एकसय घर र टहरा बगाएको छ ।
यसअघि असार १ को बाढीले हेलम्बु, मेलम्ची र पाँचपोखरीका ४५० घरपरिवार विस्थापित भएका र सयौँ रोपनी खेतीयोग्य जग्गा बगरमा परिणत भएको थियो । लगातारको बाढीले हेलम्बुको माथिल्लो भेगदेखि मेलम्ची,दोलालघाटसम्म जोखिम बढाएको छ ।
खोला भन्दामाथि हेलम्बु चुरेटारमा बसोबास गर्दै आएकी सुप्रभा गिरीले भन्नुभयो, “खेत त सबै लग्यो, घर पनि जोखिममा छ बाढीले ढुङ्गा बगाएर ल्याउदा भूकम्प जसरी थर्काउछ निन्द्रा लाग्दैन।” उहाँले जतिसक्दो चाँडो भे्रमाथानको पहिरो अनुगमन गरी पीडितलाई उचित ठाउँमा व्यवस्थापन गर्न माग गरे ।
लगातारको बाढीले सोमबारराति मेलम्ची बजारका सात घर बगाएको छ भने बजारका धेरै घर जोखिममा छन् । त्यस्तै हेलम्बु र मेलम्चीको सिमानामा रहेको ग्याता गुम्बा, हेलम्बु किउलका धनपति भण्डारीलगायतको घर र टहरा , तालामाराङ तेर्से स्कूल छेउका दुई घर र नेपानेका केही घर पनि बगाएको छ भने अन्य धरै घर जोखिममा छन् ।
यसैगरी एघार पिपलबोटका हरिशरण श्रेष्ठसहितको छ घर र पुरानो बजारको एक घर बगाएको छ । हेलम्बुका किउल, चनौटे, ग्याल्थुमलगायत क्षेत्रमा धैरै घर टहरा बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए । क्षतिको अन्य विवरण आउने क्रममा रहेको भनाइ थियो ।
प्रहरी उपरीक्षक अधिकारीका अनुसार चनौटे ग्याल्थुम र ढुङ्गे्र बजार, नेपाने, तालामाराङ, मेलम्ची र बाहुनेपाटीका अधिकांश तटीय क्षेत्रमा रहेका घर, विद्यालय, सामुदायिक भवन, खेत, बाटो र बिजुलीका पोल जोखिममा छन् । बाढीले मेलम्ची–१२ मा रहेकामध्ये पहाडी लोकमार्ग तथा मेलम्ची, ईन्द्रावती, चौतारा र पाँच पोखरीलाई जोड्ने एक मात्र बाहुनेपाटी पुल पनि जोखिममा परेको छ ।