१७ मंसिर २०८१, सोमबार

बुझेर पनि अबुझ भै हिेडे तिनको त्यो मर्मलाई(कविता )



बिमला भुसाल (कविता )

बुझेर पनि अबुझ भै हिेडे तिनको त्यो मर्मलाई

छेउमै थियो त्यो थोत्रो छाता।
एक हातले उठाइन।।
भिजेको थियो त्यो उनको शरिर।
मुस्कानले सुकाईन।।

शिरबाट झर्ने पानीका धारा।
पुछिन एक हातले ।।
दुखको भारी बोक्नै पर्ने ।
आइमाइको जातले।।

बित्यो रे उनको जिन्दगी आधा।
सडकै पेटि घर भइसक्यो।।
बोकेरै त्यो सागको डोको।
जिन्दगी गइसक्यो ।।

सम्झीनै रहे त्यो थोत्रो छाता।
सागका ती मुठा।।
त्यो मिठो बोली थाकेको मुहार
मुस्कान देखे झुठा ।।

स्वाभिमान उनको उचो थियो।
मेहनती हातहरु।।
ती बुढी आमा सडक पेटि।
मिलोस है साथहरु ।।

सम्मान गरे ती आमालाई।
तिनको त्यो कर्मलाई।।
बुझेर पनि अबुझ भै हिेडे।
तिनको त्यो मर्मलाई।।

दुई हात जोडी नमन टक्राए।
यो मेरो मनले ।।
पुग्दैन कहिल्यै मान्छेको जातलाई।
कमाएको धनले ।।

सन्तोष मान्छिन ती बूढी आमा।
कर्मको फलमा।।
लुकाउछिन सधै दुखको घाउ।
लगाई मलम ।।



प्रतिक्रिया दिनुहोस !