म एमाले प्रवेश गरेको छैन, माओवादी केन्द्रमै छु: नेता रायमाझी
काठमाण्डौ। नेकपा माओवादी केन्द्रका पूर्व नेता टोपबहादुर रायमाझीले आफू नेकपा एमालेमा प्रवेश नगरेको दाबी गरेका छन् । बुधबार सर्वोच्च अदालतमा सांसद पद कायम राखिदिन भन्दै दायर गरेको रिटमा रायमाझीले आफू एमालेमा प्रवेश नगरेको दाबी गरेका हुन् ।
नेकपा माओवादी केन्द्र छाडी नेकपा एमालेको केपी ओली नेतृत्वमा जाने निर्णय गरेपछि माओवादी केन्द्रले रायमाझीलाई कारबाही गरेको थियो । सांसद पद र पार्टीको सदस्यबाटै निष्कासित गरेपछि सो को जानकारी संसद् सचिवालयलाई दिइएको थियो । माओवादी केन्द्रबाट निर्वाचित सांसद पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि संसद् सचिवालयले रायमाझीलाई गएको चैत २६ गते सांसद पदबाटसमेत हटाएको थियो ।
सांसद पदबाट हटाएको करिब ४ महिनापछि गुहार माग्दै सर्वोच्च पुगेका रायमाझीले आफू नेकपा एमालेमा प्रवेश नगरेको दाबी गरेका हुन् । उनले दायर गरेको रिटको मुद्दाको संक्षिप्त खण्डको ख मा केपी ओलीले नेतृत्व गरेको नेकपा एमालेमा आजसम्म औपचारिक रूपमा प्रवेश नगरेको र पार्टीको सदस्यता नलिएको बताएका छन् । हालसम्म पनि आफू माओवादी केन्द्रकै नेता रहेको रायमाझीको दाबी छ ।
त्यसैगरी रायमाझीको दाबीमा माओवादी केन्द्रको महाधिवेशन पनि नभएको, पार्टीको आधिकारिकता नभएको, सोही पार्टीले आफूलाई स्पष्टीकरणसम्म नसोधी कारबाही गरेको कुरा मान्य हुन नसक्ने भन्दै उक्त कारबाही अवैध भएकाले सांसद पदबाट हटाउने निर्णय बदर गर्न माग गरेका छन् ।