चितवनमा अण्डाको मूल्य हालसम्मकै उच्च,कतिमा कारोबार हुदैछ ?
चितवन । कोरोना सङ्क्रमणसँगै जारी भएको निषेधाज्ञामा नोक्सान बेहोरेका पोल्ट्री व्यवसायीले राहत महसुस गर्न थालेका छन् । कुखुराजन्य क्षेत्रका सबै उत्पादनको मूल्य लागतभन्दा बढी भएको छ । अण्डाको मूल्य हालसम्मकै उच्च भएको छ भने चल्ला र मासुको मूल्य लागतभन्दा बढेको छ । गत वैशाखको पहिलो साताबाट ओरालो लागेको पोल्ट्री व्यवसायको कारोवार क्रमशः बढ्न थालेको हो । यही साउन महिनामा अण्डा, मासुको खपत कम हुने भनिए पनि माग बढेपछि मूल्यसमेत बढेको छ । निषेधाज्ञाका समयमा तीन साता ब्रोइलर चल्लाको बिक्री शुन्य भएकामा क्रमशःबढ्दै गएर प्रतिवटा रु ७० पुगेको छ
नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय समितिका निवर्तमान अध्यक्ष टीकाराम पोख्रेलका अनुसार ब्रोइलर चल्लामा ठूलो नोक्सान भएको छ । उनले भने, “निषेधाज्ञाका समयमा तीन साता हामीले चल्ला बेच्न सकेनौँ ।” गएको तीन महिनामा अन्य हप्ता लागत मूल्यका आधारमा बेच्नसमेत मुस्किल परेको उनको भनाइ छ । ब्रोइलर चल्लाको लागत मूल्य प्रतिवटा रु ५६ पर्दछ । एक सातामा देसभरका ह्याचरीले ३० लाख चल्ला उत्पादन गर्ने उनले जानकारी दिए ।