६ मंसिर २०८१, बिहीबार

धादिङमा अमेरिकी जोन्सन एण्ड जोन्सन खोप लगाउनासाथ एकको मृत्यु



काठमाडौं – धादिङमा कोरोनाको खोप लगाएको केही बेरमै एक वृद्धको ज्यान गएको छ। पारिवारिक स्रोतका अनुसार नीलकण्ठ नगरपालिका–६ का ७८ वर्षीय नरबहादुर श्रेष्ठको कोरोना विरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाएको केही बेरमै ज्यान गएको हो।

शुक्रबार नीलकण्ठ नगरपालिका–६ सुनौलाबजारका स्थायी बासिन्दा ७८ वर्षीय नरबहादुर श्रेष्ठ घर नजिकै केन्द्रमा खोप लगाउन गएका थिए। खोप लगाएर फर्किएका उनी केही समयपछि बेहोस भएर ढलेको र उपचारका लागि नजिकैको अस्पतालमा पुर्याउँदा मृत्यु भएको परिवारले जनाएको छ।

श्रेष्ठका जेठा छोरा नारायणकुमारका अनुसार, नरबहादुरले शुक्रबार बिहान साढे ११ बजे जोन्सन एन्ड जोन्सन खोप लगाएका थिए। ‘खोप लगाएको ३० मिनेट खोप केन्द्रमा नै बस्यौँ, त्यसपछि ५ मिनेटको बाटो हिँडेर घर पुग्यौँ, घर पुगेको केहीबेरमा बुवा ढल्नुभयो,’ उनले भने।

नारायणका अनुसार ‘रिङ्गटा लागेर ढलेका बुवालाई केही मिनेटमै सुनौलाबजार स्वास्थ्य चौकीमा लगिएको थियो। त्यहाँ पु¥याउँदा बेहोस हुनुहुन्थ्यो। त्यहाँका स्वास्थ्यकर्मीले धादिङ अस्पताल पठायो। धादिङ अस्पताल आइपुग्दा यहाँका चिकित्सकले मृत्यु भइसकेको घोषणा गरे।

नरबहादुर केही वर्षअघिदेखि सुगरको औषधि सेवन गरिरहेका थिए।श्रेष्ठको मृत्यु खोपकै कारणले भएको हो वा अन्य कुनै कारणले भएको हो सो बारे अनुसन्धानपछि मात्र खुल्ने स्वास्थ्य कार्यालय धादिङका प्रमुख डा. भुवन पौडेलले बताए।

‘खोप लगाएको ५० मिनेटमा बेहोस हुनुभएकै हो, अस्पताल ल्याउँदा मृत्यु भइसकेको थियो, के कारणले मृत्यु भयो भन्ने यकिन गर्न सकिदैन। घटनाको बारेमा माथिल्लो तहमा जानकारी गराइएका छौँ, अनुसन्धानपछि मात्र पत्ता लाग्छ,’ उनले भने।

मृत्युको कारण यकिन गर्न श्रेष्ठको शवलाई काठमाडौं पठाइएको छ। जिल्लाको खोप समन्वय समितिले शव पोष्टमार्टम र थप अनुसन्धानको लागि शुक्रबार नै शव काठमाडौ पठाएको हो।



प्रतिक्रिया दिनुहोस !