११ मंसिर २०८१, मंगलवार

कांग्रेसमा ‘डिजिटल भोटिङ’ गर्न सकिने व्यवस्था



काठमाडौं । नेपाली कांग्रेसले कोरोना महामारी रहिरहेको अवस्थामा ‘डिजिटल भोटिङ’ को आफ्नै आन्तरिक प्रविधिको विकास र सुनिश्चितता गरेको छ । कांग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले पार्टीले आवश्यक ठहर गरेर निर्णय गरेको अवस्थामा हालै उक्त प्रविधिको विकास गरेको हो ।यस प्रविधिमार्फत सबै जिल्ला पार्टी कार्यालयमा उपस्थित भएर प्रदेश अधिवेशन र महाधिवेशनका प्रतिनिधिले मतदान गर्न सक्ने व्यवस्था गरिएको विभागका सचिव दिनेश थापा मगरले जानकारी दिए । प्रविधिमार्फत पार्टीको आगामी १४औँ महाधिवेशनमै केन्द्र र सबै प्रदेशको निर्वाचनसम्बन्धी सबै प्रक्रिया सम्पन्न गर्न सकिने क्षमताको विकास गरिएको छ । महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

विभागको हालै सम्पन्न बैठकले ‘डिजिटल भोटिङ’ को नमूना प्रदर्शनीको आन्तरिक कार्ययोजनासमेत तय गर्नाका साथै जिल्ला तहसम्म प्रविधि प्रशिक्षण र सहजीकरणका लागि दक्ष इन्जिनीयरहरुको नेटवर्क तयार गरिएको छ । महाधिवेशनको वैचारिक प्रचार प्रारम्भ गर्नेलगायत अन्य निर्णय पनि गरिएको उनले बताए ।



प्रतिक्रिया दिनुहोस !