२९ बैशाख २०८१, शनिबार

बाढी र डुबानका घटना बढेपछि चितवन प्रशासनले दियाे यस्ताे चेतावनी



चितवन । चितवन जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरेर जिल्लाबासीलाई नदी र खोला छेउमा नजान अनुरोध गरेको छ ।

बुधबारदेखि जिल्लामा भारी वर्षा भइरहेको र नदी, खोलामा बाढी बढिरहेको जनाउँदै कार्यालयमा प्रशासकीय अधिकृत खेमराज पौडेलले बिहिबार बिहान सूचना जारी गरेर सतर्कता अपनाउन अनुराेध गर्दै र नदी र खोला छेउमा नजान चेतावनी दिएका छन् ।

अविरल वर्षाका कारण जिल्लाभर नै बाढी, पहिरो र नदीले बस्ती समेत कटान जारी रहेको र बाढीले बस्ती नै डुबान पार्दै लगेको जनाउँदै आगामी केही दिनसम्म नदीमा गएर माछा मार्ने, काठ–दाउरा संकलन गर्ने तथा पौडी खेल्न जस्ता जोखिमपूर्ण कार्य नगर्न उनले सबैमा अनुरोध गरेका छन् ।

सानो लापरवाहीले ज्यान नै जान सक्ने खतरा रहेको जनाउँदै खतरामा पर्न सक्ने क्रियाकलाप नगर्न भनिएको छ । बाढी, पहिरो र डुबानको खतरा बढेमा जिल्ला आपतकालीन संचालन केन्द्रको मोवाइल नम्बर ९८४४२०८८८८ मा सम्पर्क गर्न पनि उनले आग्रह गरेका छन् ।

अहिले नाराणी, रिउ, राप्ती नदीमा पानीको वहाव बढिरहेको र माडी नगरपालिकाअन्तर्गत वनट्टी, कल्याणपुर, छर्छरे, गोविन्द बस्ती र आसपासका क्षेत्रमा व्यापक मात्रामा पानी परिरहेको सूचनामा जनाइएको छ ।

इच्छामनकामना गाउँपालिका, राप्ती र कालिका नगरपालिकाको र भरतपुर महानगरपालिकाको वडा नम्बर २९ मा बाढी र पहिरोको खतरा रहेको जनाइएको छ ।

बाढीबाट आज बिहान मात्र माडीको चेपाङ बस्ती डुबानमा परेको छ भने माडी–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुन सक्रिय रहेको र केही दिनसम्म भारी वर्षा हुने संभावना रहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !