९ मंसिर २०८१, आईतवार

चितवनमा कोरोना संक्रमण दर उकालोतर्फ, यस्ताे छ अवस्था



भरतपुर । चितवनमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या बढ्दै गएको छ । जिल्लामा एक हजार १४ मा झरेको सक्रिय संक्रमितको संख्या बढ्दै गएर एक हजार २७१ पुगेको हो ।

स्वास्थ्य कार्यालय चितवनको तथ्यांअनुसार पछिल्ला केही दिनमा संक्रमितको संख्या बढ्दै गएको छ । त्यसो त वैशाख र जेठमा यहाँ सक्रिय संक्रमितको संख्या निकै बढी थियो ।

कार्यालयका प्रमुख दीपकप्रसाद तिवारीका अनुसार जेठको दोस्रो साता सक्रिय संक्रमितको संख्या चार हजार ७०० नाघेको थियो । जेठ १० गते ४ हजार ७ सय १३ पुगेको थियो ।

असार लागेसँगै घट्दै गएको संक्रमितको संख्या पुनः बढ्न थालेको छ । असार १ गते एक हजार ५४८ रहेका सक्रिय संक्रमितको संख्या घट्दै गएर असार १३ गते एक हजार १४ मा झरेको थियो । जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार असार १४ गते एक हजार ८७, १६ गते एक हजार १९८ र १८ गते एक हजार २२० हुँदै यो संख्या एक हजार २७१ पुगेको छ । सक्रिय संक्रमितको प्रतिशत पनि बढ्दै गएको छ ।

असार ५ गते यस वर्षकै कम दुई दशमलव एक प्रतिशत संक्रमित भएकामा असार १५ गते १७ दशमलव ९६ प्रतिशत, १८ गते २३ दशमलव २४ प्रतिशत, १९ गते २७ दशलमव २४ प्रतिशत, २० गते २७ दशमलव २४ प्रतिशत, २१ गते १९ दशमलव ६९ प्रतिशत र २२ गते १८ दशमलव४३ प्रतिशत रहेको छ ।

कार्यालय प्रमुख तिवारी निषेधाज्ञा खुकुलो हुँदै जाँदा संक्रमित बढ्दै गएको बताउँछन् । संक्रमितको संख्या अनुभूत हुने गरी घट्न नपाउँदै पुनः बढ्न थालेपछि खतरा बढेको उनको भनाइ छ ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्षसमेत रहेका फिजिसियन डा. भोजराज अधिकारीले मध्यम र सामान्य प्रकृतिका संक्रमित बढेको बताए । वर्षातको समयमा पानीमा भिजेर, खेतीपातीको कामले थाकेर भन्दै सामान्य लक्षण देखिएका पनि घरमै रहेका कारण गाउँघरमा संक्रमितको सङ्ख्या झन् बढ्न सक्ने उनले बताए । कोरोनाको मिल्दोजुल्दो लक्षण देखिनसाथ परीक्षण गर्न पनि उनले सुझाव दिए ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले देशव्यापीरूपमा भन्दा जिल्लामा केही कमी भएपनि बढ्दै गएकामा चिन्ता व्यक्त गरे । स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन सबैसँग आग्रह गरे ।

जिल्लाका अस्पतालमा २१९ संक्रमितको उपचार भइरहेको छ । तीमध्ये ६६ सघन उपचारकक्षमा, १७ भेन्टिलेटरमा, ४३ एचडीयुमा र ११० जना सामान्य शय्यामा उपचाररत छन् । जिल्लामा हालसम्म २८७ जनाको मृत्यु भएको छ । कूल संक्रमितको संख्या १६ हजार ८६३ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !