५ मंसिर २०८१, बुधबार

गोरखाको सामुदायिक विद्यालयलाई ल्यापटप र टेलिभिजन वितरण



गोरखा । गोरखाको गण्डकी गाउँपालिकाभित्रका ३० सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउन ल्यापटप तथा टेलिभिजन प्रदान गरिएको छ ।

गण्डकी गाउँपालिकाभित्रका नौवटा माध्यमिक र २१ वटा आधारभूत विद्यालयमा ल्यापटप तथा टेलिभिजन वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका शिक्षा शाखा प्रमुख सुदीप पन्तका अनुसार विद्यालयमा आइटिसी सामग्री कार्यक्रम सञ्चालनका लागि सहजता प्रदान गर्न नेपाल युथ फाउन्डेशन र गण्डकी गाउँपालिकाको सहकार्यमा ती सामग्री उपलब्ध गराइएको हो ।

फाउन्डेशनले सबै सामग्री खरीद गरी प्रत्येक विद्यालयलाई एक-एक थान ल्यापटप र टेलिभिजन वितरण गरेको जनाएको छ । ल्यापटप र टेलिभिजन खरीदका लागि गाउँपालिकाले फाउण्डेशनलाई रु पाँच लाख उपलब्ध गराएको उनले बताए ।सामग्री खरीदका लागि आवश्यक थप रु ३० लाख फाउन्डेशनले व्यहोरेको प्रमुख पन्तको भनाइ छ ।

‘कोरोना सङ्क्रमणका कारण विद्यालयमा अनलाइन कक्षाको विकास गर्नुपर्छ भन्ने अनुभूति सबैलाई भएको छ’, उनले भने, ‘कम्तीमा एउटा कम्प्युटर र एउटा टिभी उपलब्ध गराएका विद्यालयमा आइटिसी कक्षामा विद्यार्थीले अनलाइन प्रविधिको माध्यमबाट पढ्न पाउँछन् ।’

उनले कम्प्युटर र टेलिभिजन उपलब्ध गराएका विद्यालयहरुले अब अनलाइन प्रविधिको प्रयोग गरी भिडियोमार्फत कक्षा सञ्चालन गर्न सक्ने अवस्था भएको बताए ।



प्रतिक्रिया दिनुहोस !