एक महिनामा देशभर घटे २०० लैङ्गिक हिंसा
काठमाडौं । सरकारले कोरोना सङ्क्रमणका कारण गरेको निशेषधाज्ञाको एक महिना समय अवधिमा देशभर २०० लैङ्गिक हिंसाका घटना घटेका छन् ।
नेपालमा नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमणका कारण जारी निषेधाज्ञाको एक महिनामा महिला पुनःस्थापना केन्द्र (ओरेक) नेपालले गरेको अनुसन्धानमा २०० लैङ्गिक हिंसाका घटना घटेको जनाएको छ ।
लैङ्गिक हिंसाका २०० घटनामध्ये २४ प्रतिशत अर्थात् (४७ जना) महिला तथा बालबालिकामाथि यौनिक हिंसाका घटना घटेको केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार यसै सातामात्र तीन वटा यौनजन्य हिंसाका घटना भएका छन् । सुर्खेतको गुर्भाकोट गाउँपालिका–९ मा एक किशोरीमाथि मञ्जुरीबिना मदिरा सेवन गरी यौन दुव्र्यवहार गरेको, बाँकेकी २२ वर्षीया महिलाको दाइजोमा मोटरसाइकल नपाएको निहुँमा परिवारकै सदस्यबाट हत्या भएको घटना छन् ।
यस्तै लमजुङको राइनास नगरपालिका–९ मोहोरियास्थित विद्यालयमा अध्यापन गर्ने शिक्षकले १४ वर्षीय एक किशोरीलाई पटकपटक बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।
उक्त घटनालाई कमजोर बनाउन किशोरीलाई नै विभिन्न लाञ्छना लगाएर दोषी देखाई प्रहरीमा समेत उजुरी दर्ता गर्न अवरोध आएको केन्द्रले जनाएको छ ।
महिला र बालबालिकामाथि विभिन्न समयमा लैङ्गिक तथा यौन हिंसा भए पनि घटनालाई लुकाउनका लागि अनेक बहाना देखाउँदा न्याय प्राप्तिमा समस्या देखिएको सो केन्द्रले जनाएको छ ।