पाँच मन्त्रालयले पाए १ खर्ब भन्दा बढि बजेट, कुनको कति ?
काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ का लागि पाँच मन्त्रालयले बजेटको विशेष प्राथमिकता पाएका छन् ।
शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा जारी बजेट वक्तव्य अनुसार बढि बजेट पाउने मन्त्रालयहरूमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, गृह मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय रहेका छन् ।
यी हरेक मन्त्रालयले १ खर्ब भन्दा माथिको बजेट पाएका छन् भने, कुल विनियोजित बजेटको झण्डै ४० प्रतिशत रकम यिनै ५ मन्त्रालयको पोल्टामा परेको छ । बाँकी मन्त्रालय, संवैधानिक आयोग तथा निकायहरूले ३ प्रतिशत भन्दा कम बजेट पाएका छन् ।
१. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
तथ्याङ्क अनुसार आर्थिक वर्षका लागि सबैभन्दा बढी बजेट पाउने मन्त्रालयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अग्रस्थानमा रहेको छ । जसले कुल बजेटको झण्डै ११ प्रतिशत बजेट एक्लैले पाएको छ ।र्थमन्त्रालयको तथ्याङ्क अनुसार शिक्षा मन्त्रालयले कुल १ खर्ब ८० अर्ब ४ करोड ११ लाखको बजेट पाएको छ । जुन कुल बजेटको १०।९३ प्रतिशत हो ।
२. भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
ठूलो आकारको बजेट पाउने मन्त्रालयको दोस्रो नम्बरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पर्छ । यो मन्त्रालयले आर्थिक वर्ष २०७८-७९ को कुल बजेटको १०.१५ प्रतिशत बजेट पाएको छ । अर्थात् यो मन्त्रालयले आर्थिक वर्षका लागि कुल १ खर्ब ६८ अर्ब १८ करोड ९४ लाख बजेट पाएको छ ।
३. गृह मन्त्रालय
गृह मन्त्रालयले यसपटक कुल १ खर्ब ६६ अर्ब ९० करोड ३५ लाख बजेट पाएको छ । यो कुल बजेटको १०।१३ प्रतिशत हो । प्रतिनिधिसभाको विघटनसँगै मध्यावधि चुनाव घोषणा गरेको सरकारले चुनावी व्यवस्थाकै गृह मन्त्रालयलाई ठूलो बजेट छुट्याइएको देखिन्छ ।
४. स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
खर्ब हाराहारीकै बजेट पाउने मन्त्रालयहरूलाई पछ्याउँदै यस पटक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत खर्ब माथिको बजेट हात पारेको छ । त्यसो त कोभिड–१९ को स्वास्थ्य उपचार, रोगको रोकथाम तथा नियन्त्रण, कोभिड–१९ विरुद्धको भ्याक्सिन खरिद एवम् मुलुक भित्रका अस्पताल तथा स्वास्थ्य केन्द्रहरूको स्तरउन्नतीकै लागि यस पटक स्वास्थ्य क्षेत्रमा ठूलो बजेट विनियोजन गरिएको हो । यस पटक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुल १ खर्ब २२ अर्ब ७८ करोड ९९ लाख बजेट पाएको छ । यो कुल बजेटको ७।४५ प्रतिशत हो ।
५. उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय
बजेट प्राप्तिको अग्र मन्त्रालयहरूको सूचीमा उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय ५ औं नम्बरमा परेको छ । यो मन्त्रालयले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि कुल १ खर्ब २१ अर्ब ९७ करोड ८१ लख बजेट पाएको छ । यो कुल बजेटको ७।४० प्रतिशत हो । चालु आर्थिक वर्षका लागि सरकारले सो क्षेत्रमा कुल १ खर्ब ५ अर्ब ८१ करोड २४ लाख बजेट विनियोजन गरेको थियो ।