४ जेष्ठ २०८१, शुक्रबार

वाग्मती गाउँपालिकामा ५ शय्याको कोभिड अस्पताल निर्माण सम्पन्न



काठमाडौं । दक्षिण ललितपुरको वाग्मती गाउँपालिका–३ भट्टडाँडास्थित महाङ्कालखोल्सामा गाउँपालिकास्तरीय पाँच शय्याको अस्थायी कोरोना भाइरस (कोभिड–१९) अस्पतालको निर्माण सम्पन्न भएको छ ।

आज गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले सो अस्पतालको उद्घाटन गर्दै मूलुकमा अझै कोरोना महामारी कायम रहेकाले सङ्घीय सरकारको निर्णयलाई गाउँपालिकाले कार्यान्वयन गरी पाँच शय्याको अस्पताल व्यवस्थापन गरेको बताए ।

जनतालाई कोभिड सङ्क्रमण भएमा राख्ने ठाउँको अभाव हुनेछैन । बिरामी उपचारका लागि आवश्यक सम्पूर्ण सामग्रीसमेत जुटाइसकेका छौँ । अस्पतलमा एक एमबीबीएस चिकित्सक र दुई स्टाफ नर्ससमेत रहनेछ,लोप्चनले भने ।

अर्कातर्फ वडा नं ४ प्यूटारस्थित थाङसिनटारमा १५ श्ययाको ‘गाउँपालिकास्तरीय अस्पताल’ भवन निर्माण कार्य पनि सम्पन्न भइसकेको छ । वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयको सःर्शत अनुदानमा ‘एकपालिका एक अस्पताल’को अवधारणाअनुरुप उक्त काम अघि बढाइएको थियो ।

गाउँपालिकास्तरीय अस्पताल निर्माणका लागि प्रदेश सरकारले कूल रु दुई करोड तीन लाख २२ हजार भ्याटसहित सम्झौता रकम भवन निर्माणका लागि दिएको ललितपुर क्षेत्र नं १ का प्रदेशसभा सदस्य चेतनाथ सञ्जेलले बताए । उनले भने, “अस्पताल सञ्चालनका लागि आवश्यक सामग्री र दरबन्दी सिर्जना गर्ने काम भने गाउँपालिका र प्रदेशको समन्वयमा हुनेछ ।”

सो गाउँपालिकास्तरीय अस्पताल तयार भइसकेपछि नजिकैरहेका बकैया गाउँपालिका र काभ्रेका जनताले समेत सेवा लिन पाउने स्वास्थ्य शाखा संयोजक नवराज तिमिल्सिनाले बताए ।



प्रतिक्रिया दिनुहोस !