प्रधानमन्त्री ओलीले गरे राष्ट्रपतिको बचाउ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको बचाउ गरेका छन् । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले राष्ट्र भण्डारीलाई महाअभियोग लगाउने चर्चा भएकोप्रति पनि असहमति जनाए ।
‘राष्ट्रपतिलाई महाअभियोग लगाउने भनिएको छ,’ उनले भने, ‘किन महाअभियोग लगाउने ? प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव ल्याए भयो । राष्ट्रपतिको हुर्मत लिने काम भएको छ । राष्ट्रपतिको काम, कर्तव्य पनि बुझ्नुपर्छ । मैले गरेको राष्ट्रपतिसमक्ष गरिएको सिफारिसप्रति म जवाफदेही छु ।’
उनले राष्ट्रपतिको विरोध गर्नु भनेको गणतन्त्रविरोधी काम भएको समेत टिप्पणी गरे । ‘राष्ट्रपति गणतन्त्रको प्रतिक हो,’ उनले भने, ‘राष्ट्रपतिको विरोध गर्नु भनेको गणतन्त्र विरोधी काम हो ।’