फेरि अष्ट्रेलिया प्रवेशमा कडाइ
क्यानबेरा । अष्ट्रेलियाले दक्षिण अफ्रिकामा देखिएको कोरोनाभाइरसको नयाँ संक्रमण भित्रिन नदिनका लागि नाकाबन्दी गर्न सक्ने जनाएको छ ।
अष्ट्रेलियाका स्वास्थ्यमन्त्री जर्ज हन्टले नयाँ संस्करणको कोरोनाभाइरसको बारेमा अध्ययन भइरहेको र विज्ञ तथा सरोकारवालाहरूको सुझावका आधारमा सिमानामा आवातजावतका बारेमा निर्णय गरिने स्पष्ट पारेका हुन् ।
पत्रकारहरूसँगको अन्तरक्रियाका क्रममा उनले नौ दक्षिण अफ्रिकी मुलुकहरूबाट अष्ट्रेलियामा हुने सबै उडान बन्द गर्ने सम्भावना रहेको स्पष्ट पारेका हुन् ।
उनका अनुसार सरकारले दक्षिण अफ्रिका, नामिबिया, जिम्बाब्वे, बोट्सवाना, मालावी, मोजाम्बिकलगायत देशहरूबाट अष्ट्रेलिया आउने उडान रद्ध गर्ने सम्भावना रहेको छ ।
तत्कालका लागि भने ती देशबाट आउनेहरूलाई उच्च सतर्कताका साथ जाँच गर्न र कुनै संक्रमण र खतरा छैन भन्ने सुनिश्चिता गर्न निर्देशन दिइसकिएको पनि उनले बताए ।
यसैगरी, अष्ट्रेलियाको नागरिक नभएको, अष्ट्रेलिया निवासी नभएको, आश्रितहरू अष्ट्रेलियामा नभएकोलगायतलाई अष्ट्रेलिया प्रवेशमा रोक लगाइसकिएको पनि स्वास्थ्यमन्त्री हन्टले जानकारी दिए ।
तर, अष्ट्रेलियाको नागरिक भएको, अष्ट्रेलिया निवासी भएको, आश्रितहरू अष्ट्रेलियामा भएकोलगायतलाई भने अष्ट्रेलिया प्रवेश गर्न दिइए पनि कम्तीमा १४ दिन क्वारेन्टिन अनिवार्य रूपमा बस्नुपर्ने व्यवस्था गरिएको छ ।
स्वास्थ्यमन्त्री हन्टले अहिलेसम्म अष्ट्रेलियामा कोरोनाभाइरसको नयाँ संस्करण ओमिक्रोन नभेटिएको दाबी पनि गरे । तर, पुरानै संस्करणको कोरोनाभाइरसको संक्रमण भने अझै पनि फैलिइरहेको छ ।
पछिल्लो २४ घण्टामा अष्ट्रेलियामा एक हजार ४०० भन्दा बढी मानिस कोरोनाभाइरसबाट संक्रमित भएका छन् ।