छात्रवृत्ति पाउँदा पनि रसिया पढ्न नगएका गुरुङ किन एमालेको उप–महासचिव हुन खोज्दैछन् ?
काठमाडौं । नेकपा एमालेको आजबाट चितवनमा सुरु भएको १० औं महाधिवेशनमा पार्टीका इमानदार र निष्ठावान नेता भनेर चिनिएका संखुवासभाका पुराना नेता परशुराम मेघी गुरुङले उम्मेदवारी दिने भएका छन् ।
सहमतिमा केन्द्रीय समिति निर्वाचित होस् भन्ने पक्षमा रहेका उनी निर्वाचनमा जानु त्यति उचित नभएको बताउँछन् । एमालेले १५ पदाधिकारीसहित २ सय २५ जनाको केन्द्रीय समिति चयन गर्ने छ ।
‘सकेसम्म सहमतिमा जाँदा पार्टीलाई फाइदा हुन्छ, सहमति नभए लोकतान्त्रिक प्रक्रियाको विकल्प छैन’ उनले भने ‘म पनि अब उप–महासचिव हुन योग्य भइसकेको छु र मेरो दाबी कसैलाई पनि अस्वभाविक लाग्दैन ।’ उनले पार्टीलाई जीवन्त र सशक्त बनाउन आफ्नो भूमिका रहने बताएका छन् । २०४८ र २०५६ सालमा संखुवासभाबाट प्रतिनिधिसभाको निर्वाचन जितेका उनी जनतामाझ पनि निकै लोकप्रिय छन् ।
उनलाई जान्नेबुझनेहरुले उनको इमानदारिताको र निष्ठाको राजनीतिको प्रशंसा नै गर्छन् । सरल स्वभावका उनी विभिन्न देश घुमेर त्यहाँको राजनीतिक र संसदीय अभ्यासबारे जानकार पनि छन् । उनी २०५६ सालमा संसदीय दलको सचेतक रहेका थिए । पार्टीको केन्द्रीय कार्यालयको सचिवको जिम्मेवारी पनि वहन गरिसकेका उनलाई पार्टीले जहिले जे जिम्मेवारी दियो त्यसलाई उदाहरणीय बनाउने गरी काम गरेका छन् । उनी स्नातकोत्तर हुन् ।
अहिले १ नम्बर प्रदेशबाट राष्ट्रियसभाको सांसद बनेका उनी विधायन व्यवस्थापन समितिको सभापति हुन् । उनको सभापतिको भूमिकाको पनि प्रशंसा गरिएको छ, अरु सभापतिले चलाएको समितिभन्दा उनी कुनै पनि कुरामा कम छैनन् । २०७१ सालमा भएको ९ औं महाधिवेशनमा सचिवमा थोरै मतले पराजित उनी लोकप्रिय मतसहित केन्द्रीय सदस्यमा विजयी भएपछि पोलिटव्यूरो सदस्य बनेका हुन् ।
धरानको हात्तिसार क्याम्पसमा आइटेक पढेपछि पूर्ण छात्रवृत्तिमा रसिया पढ्ने अवसर पाए पनि उनी गाउँ र जनताको सेवा गर्छु भनेर जिल्ला फर्किएका थिए । मेघी मेधावी विद्यार्थीका रुपमा चिनिन्थे । उनी पार्टीको संघीय मामिला विभाग प्रमुख हुन् । गुरुङ संसदीय मामिलाका जानकारका रुपमा पार्टीमा अग्रपंक्तिमा गनिन्छन् ।
पार्टीमा लागेर निरन्तर पार्टीको र जनताको सेवा गर्दै आएका उनले आफ्नो योजना अघि सारेका छन् । उनले आफ्नो त्याग, समर्पण र योगदानको अवश्य पनि मूल्यांकन होला भन्ने विश्वास लिएका छन् ।