२ मंसिर २०८१, आईतवार

आज एमाले महाधिवेशनको यस्तो छ उद्घाटन कार्यतालिका



चितवन । एमालेको १०औँ राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ ।

अध्यक्ष केपी ओलीले दिउँसो १ बजे नारायणी नदीको किनारामा राष्ट्रिय महाधिवेशनको उदघाटन गर्नेछन् । एमालेलाई प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना दिनेछन् ।

एमालेले उद्घाटन सत्रमा देशभरबाट झण्डै पाँच लाख नेता कार्यकर्ता सहभागी हुने दाबी गरेको छ । ओलीसहितका नेताहरू बिहीबार चितवन आइपुगेका छन् । बन्दसत्रमा दुई हजार १७५ प्रतिनिधि सहभागी हुँदैछन् ।

५० ठाउँमा स्वागत गेट र २५ ठाउँमा सेल्फी प्वाइन्ट बनाइएको छ । चितवनका हरेक घरमा निमन्त्रणा पत्र पठाइएको छ ।

सुरक्षाका लागि प्रशासनले १५ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरेको छ । नारायणगढ बजार क्षेत्रमा मालवाहक गाडी आवतजावतमा रोक लगाइएको छ । अत्यावश्यक गाडी चल्न पाउने व्यवस्था गरिएको छ ।

महाधिवेशनको उद्घाटन अगाडि चितवन जिल्लाका सात ठाउँबाट जुलुस निकालिने भएको छ । विभिन्न ठाउँबाट आएकाहरूलाई भरतपुरका सात ठाउँबाट जुलुससहित सभामा सहभागी हुने व्यवस्था गरिएको छ ।

एमाले चितवनका अध्यक्ष पार्वती रावलका अनुसार पूर्वबाट आउने सहभागीहरू भरतपुरको केन्द्रीय बसपार्कबाट जुलुसमा सहभागी हुनेछन् । पूर्वबाट आउने गाडीलाई केन्द्रीय बसपार्कमै पार्किङ गर्ने व्यवस्था गरिएको छ ।

पश्चिम नेपालबाट आउनेहरूलाई पुल्चोकबाट जुलुससहित सभामा सहभागी गराइने भएको छ । पश्चिमबाट आउने गाडीलाई गैँडाकोटतर्फको नारायणी नदी किनारमा पार्किङको व्यवस्था गरिएको छ ।

मुग्लिनको बाटो हुँदै आउने सहभागीहरूलाई आँटपारीबाट जुलुससहित सभामा सहभागी हुने व्यवस्था गरिएको छ । त्यस ठाउँमा रोकिएका गाडीलाई आँटपारीमा रहेको नेपाल ट्रष्टको जग्गामा पार्किङ गर्ने व्यवस्था गरिने भएको छ ।

चितवनको माडी, जगतपुर, गीतानगरतर्फबाट आउनेहरूलाई हाकिमचोकबाट जुलुसमा सहभागी हुने व्यवस्था गरिएको छ । ती ठाउँबाट आउने गाडीलाई पनि भरतपुर बसपार्कमा पार्किङको व्यवस्था गरिने छ ।

भरतपुरको पश्चिमी क्षेत्र चनौली, मेघौली लगायतका क्षेत्रबाट आउने सहभागीहरूलाई चौबीसकोठीबाट जुलुसमा सहभागी गराइने व्यवस्था गरिएको छ ।

भरतपुर महानगरपालिका वडा नं. १६, १७, १८ लगायत पश्चिम चितवनबाट आउने सहभागीहरू बेलचोकबाट जुलुसमा सहभागी हुनेछन् ।

त्यहाँ आउने गाडीलाई त्यही क्षेत्रमा पार्किङको व्यवस्था गरिएको छ । कालीका नगरपालिका र भरतपुर– ११ तर्फबाट आउने सहभागीहरू विशालचोकबाट वीरेन्द्र क्याम्पस रोड हुँदै जुलुसमा सहभागी हुने व्यवस्था गरिएको छ ।

 



प्रतिक्रिया दिनुहोस !