यु–१९ राष्ट्रिय क्रिकेट : लुम्बिनीमाथि कर्णालीको शानदार जित
काठमाडौं। बाईबाई पुरुष यु–१९ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत बुधबारको खेलमा कर्णाली प्रदेशले लुम्बिनी प्रदेशमाथि १४० रनको जित निकाल्दै शानदार सुरुवात गरेको छ ।
२३३ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी २३.५ आभेरमा सबै विकेट गुमाउँदै ९२ रनमा समेटियो । लुम्बिनीका लागि प्रज्जवल थापाले सर्वाधिक २८, दुर्गेश गुप्ताले २० र आकाश त्रिपाठीले १५ रनको योगदान दिँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
लुम्बिनीलाई सस्तैमा समेट्न कर्णालीका प्रकाश जैशीले ५, युनिश सिंहले ३ र अनुज चुनाराले २ विकेट लिए । यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २३२ रन बनाएको थियो ।
कर्णालीका लागि सुवास अयरले ७६ रनको उत्कृष्ट पारी खेले । ३५.१ ओभरमा वासिर अहमेदले बोल्ड गराउनुअघि उनले ९० बलको सामना गर्दै ९ चौका र ३ छक्का प्रहार गरे ।
तेस्रो विकेटका लागि सुवास र कप्तान निश्चल रावलले १२२ रनको उत्कृष्ट साझेदारी गर्दै कर्णालीको पारी उकासेका थिए । निश्चलले ४४ रन बनाए । विपिन रावलले ३२ र प्रकाश जैसीले २५ रनको योगदान दिए ।
लुम्बिनीका लागि दुर्गेश गुप्ताले ४, विशाल विक्रम केसीले २ तथा वासिर अहमेद र मोहम्मद हुसेनले १ विकेट हात पारे । यो जितसँगै कर्णाली सुखद सुरुवात गर्दै २ अंक जोड्दा लुम्बिनी प्रदेशले पहिलो पराजय बेहोरेको छ ।
लुम्बिनीले पहिलो खेलमा गण्डकी प्रदेशमाथि ९ विकेटको शानदार जित हात पारेको थियो ।