सामाजिक विविधता बुझाउन जातीय पहिरनमा पढाइ
बर्दिया । मधुवन नगरपालिका-४ ढोढरीको नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालयले सामाजिक विविधता बुझाउनको लागि विद्यार्थीलाई जातीय परम्परागत पहिरनमा पढाउने गरेको छ ।
विद्यालयले वर्षको दुई पटक (गर्मी महिना र जाडो महिना) शुक्रबारको कार्यक्रमको अवसर पारेर विद्यार्थीलाई जातीय परम्परागत पोशाकमा बोलाइ पढाउन थालेको हो ।
शिक्षक तथा विद्यार्थी आ आफ्नो परम्परागत जातीय पहिरनमा उपस्थित भइ सामाजिक विविधता, विभिन्न जातजातिको भेषभुषा, रहनसहन र कला संस्कृतिको बारेमा पढ्दै/पढाउँदै आएको प्रधानाध्यापकले बताए ।
विद्यालयको यो प्रयासले सामाजिक विविधता, कला, संस्कृति, रहनसहन, पहिरनबारे बालबालिकालाई बुझाउन सहज भएको छ । हामीले पाठ्यक्रममा भएको कुरा पढाउँदा मात्रै भन्दा प्रत्यक्ष देखाएर, विद्यार्थी आफैलाई आफ्नो पूर्खा, कला, संस्कृतिबारे भन्न लगाएर पढाउँदा मजाले बुझ्छन् । सामाजिक सद्भाव कायम राख्न सहयोग पुग्छ ।
यसले विद्यार्थीबीच एक अर्काको भाषा, कला, संस्कृति, पहिरन र सामाजिक विविधताबारे जानकार मात्रै नभएर सम्मान गर्न सिकाउने प्रधानाध्यापकको भनाइ छ ।
कार्यक्रमको दिन जातीय पहिरनमा भएको विद्यार्थीलाई पूर्खालाई सम्झेर मौनधारण गर्न लगाउनुका साथै आफ्नो जाति, संस्कृति, कला, भाषाबारे जानकारी दिन लगाउने गरिएको छ । दुई अथवा तीन पिरियडमा सुन्ने/सुनाउने कक्षापछि सांस्कृतिक कार्यक्रम हुने गरेको छ ।
विद्यालयको यो कार्यक्रमले विद्यार्थीमा आफ्नो भाषा, संस्कृति, पहिरनबारे चासो तथा प्रेम बढाएको प्रधानाध्यापकले पोख्रेलले बताए । अन्य दिन विद्यार्थीलाई विद्यालयमा मोबाईल फोन ल्याउन प्रतिवन्ध गरिएको छ । तर जातीय भेषभूषामा आउने कार्यक्रमको दिन विद्यार्थीलाई मोबाइल ल्याउन समेत अनुमति दिएको छ ।