मनकामना दर्शन गर्न आउने भक्तजनको सङ्ख्या बढ्दै
काठमाडौं। गोरखाको शहीद लखन गाउँपालिकास्थित मनकामनामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर दर्शन गर्न आउने भक्तजनहरुको सङ्ख्या बढ्दै गएको छ । कोरोना भाइरसका कारण लामो समय सम्म बन्द भई गत भदौ २३ गते खुला गरिएको मनकामना मन्दिरमा आउने दर्शनार्थी बढ्दै गएको हो ।
हरेक दिन मनकामना मन्दिर दर्शन गर्न आउनेको सङ्ख्यामा वृद्धि हुँदै गएको मनकामना मन्दिरका मूल पुजारी इन्सान थापाले जानकारी दिएका छन्। उनका अनुसार हिजो शनिबार एकै दिन ९ हजार बढी दर्शनार्थीले मन्दिरको दर्शन गरेका छन् ।
यसैबीच शनिबार मात्र ६ हजार भन्दा बढी दर्शनार्थी मनकामना केबलकार चढेर मनकामना दर्शन गर्न पुगेका छन् । मनकामना दर्शन प्रा लि का नायब महाप्रबन्धक उज्ज्वल शेरचनले शनिबार एकै दिन ६ हजार ७०० ले केबलकार चढेको बताएका छन् । उनका अनुसार कोरोना महामारीका कारण बन्द भएपछि सञ्चालनमा आएको केबलकार एकै दिन ६ हजार ७०० जनाले चढेको पहिलोपटक हो ।
कोरोना महामारी अघि दैनिक चार हजार ५०० भन्दा बढी दर्शनार्थी केबलकार चढेर मनकामना मन्दिर पुग्ने गर्दथे । सार्वजनिक बिदा र शनिबारका दिन भने सो भन्दा बढी संख्यामा दर्शनार्थीहरु केबलकार चढेर मनकामना मन्दिर पुगेका थिए ।