मनाङ स्याउ फार्मको राष्ट्रपतिद्वारा अनुगमन
लमजुङ। राष्ट्रपति विधादेवी भण्डारीले निजी क्षेत्रबाट सञ्चालित नेपालकै सबैभन्दा ठूलो स्याउ फार्मको अवलोकन गरेकी छिन् । राष्ट्रपति भण्डारीले प्रतिनिधिसभाका सांसद पाल्देन छोपाङ गुरुङले सञ्चालन गरेको एग्रो मनाङ स्याउ फार्मको अबलोकन गरेकी हुन् ।
मनाङ ङिस्याङ गाउँपालिका–१ भ्रताङमा रहेको एग्रो मनाङ प्रा।लि। को स्याउबारी दक्षिण एसियाकै ठूलो हो । ७ सय ३५ रोपनी क्षेत्रफलमा स्याउखेती गरिएको छ । यस फार्ममा इटालीबाट बिरुवा ल्याएर गाला, फुजी, गोल्डेनलगायतका स्याउ उत्पादन हुँदै आएको छ ।
राष्ट्रपति भण्डारीलाई एग्रो मनाङ प्रा।लि।का अध्यक्ष समराज गुरुङ र प्रबन्ध निर्देशक युवराज गुरुङले स्याउ फार्मका बारेमा जानकारी गरएका थिए ।अवलोकनपछि राष्ट्रपति भण्डारीले नेपालको दुर्गम जिल्लामा उन्नत र व्यावसायिक कृषि खेती गरेर नेपालको अर्थतन्त्रमा थप सहयोग पुग्ने भन्दै खुसी व्यक्त गरिन् ।
मनाङको हाइ अल्टिच्युडमा रहेको यस एग्रो मनाङ फार्ममा देशको पहिलो महिला राष्ट्रपतिलाई स्वागत गर्न पाउँदा सम्पुर्ण मनाङका बासिन्दाहरु खुसी भएको प्रतिनिधिसभा सासद पाल्देन छोपाङ गुरुङले बताएका छन् ।
उक्त फार्ममा गत आर्थिक वर्षमा ४ सय ५० टन स्याउ उत्पादन भएको थियो ।