एमाले स्थायी समिति बैठक सुरु
काठमाडौं। नेकपा एमालेको स्थायी कमिटी बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सुरु भएको छ ।
बैठकमा विधान महाधिवेशनको समीक्षा, कार्तिक ६ गते हुने वडा अधिवेशन, कार्तिक ९ गते हुने पालिका अधिवेशन, राष्ट्रिय महाधिवेशन र हालै अविरल वर्षाका कारण भएको जनधनको क्षतिका सम्बन्धमा छलफल हुने बताइएको छ ।
खासगरी एमालेको दशौं राष्ट्रिय महाधिवेशन कहाँ गर्ने भन्ने विषयमा बैठकले स्थान तय गर्ने नेताहरुले बताएका छन् । उनीहरुका अनुसार राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने प्रस्ताव आएकाले बैठकले उक्त प्रस्ताव स्वीकार्ने सम्भावना रहेको छ ।
यसअघि विधान महाधिवेशन समापनका क्रममा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय महाधिवेशन बुटवलमा गर्ने माग आएकाले अन्यथा निर्णय नभए बुटवलमै महाधिवेशन गर्ने घोषणा गरेका थिए । एमालेको महाधिवेशन आगामी मंसिर १० देखि १२ गतेका लागि तोकिएको छ ।