एमालेको दशौं महाधिवेशन चितवनमा गर्ने तयारी
काठमाडौं। नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ ।
दिउँसो ३ बजे तुलसीलाल अमात्य प्रतिष्ठान च्यासलमा बस्ने बैठकमा विधान महाधिवेशनको समिक्षा, कात्तिक ६ गते हुने वडा र ९ गते हुने पालिका अधिवेशनका, अविरल वर्षाका कारण देशमा भएको जनधनका बारेमा समेत छलफल हुनेछ ।
खासगरी एमालेको आजको बैठकले पार्टीको दशौं राष्ट्रिय महाधिवेशन कहाँ गर्ने भन्ने स्थान तय गर्न बैठक बस्न लागिएको नेताहरुले बताएका छन् । उनीहरुका अनुसार राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने प्रस्ताव आएकाले बैठकले उक्त प्रस्ताव स्वीकार्ने सम्भावना रहेको छ ।
एमाले वागमती प्रदेश कमिटीको अधिवेशनमा नेताहरुले राष्ट्रिय महाधिवेशनको स्थान परिवर्तन गर्न सुझाव दिँदै चितवनमा गर्नुपर्ने प्रस्ताव गरेपछि स्थायी कमिटीले स्थान परिवर्तनबारे निर्णय लिने बताएका थिए । एमालेको महाधिवेशन आगामी मंसिर १० देखि १२ गतेका लागि तोकिएको छ ।
यसअघि कात्तिक ६ गते वडा र ९ गते एमालेले पालिका अधिवेशन गर्ने तयारी गरेको छ । अध्यक्ष ओलीले महाधिवेशन तोकिएकै समयमा हुने भन्दै त्यसको तयारी समेत सुरु भइसकेको बताएका छन् । महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ ।