मोहन वैद्यलाई भेट्न मन्त्रीहरुको घुइँचो
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले आफ्नो राजनीतिक गुरु एवम् क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यलाई भेट्न अस्पताल पुगेका छन् ।
दमको समस्या बढेर आइतबारदेखि नर्भिक अस्पतालमा भर्ना भई उपचारत वैद्यलाई भेट्न उपराष्ट्रपति पुन बिहान साढे आठ बजे नर्भिक अस्पताल पुगेका थिए ।
उनले अस्पतालमा रहेका नेता वैद्यसँग स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिएका थिए । अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले नेता वैद्यको स्वास्थ्य अवस्थाको विषयमा उपराष्ट्रपतिलाई जानकारी गराएका थिए । सो क्रममा उपराष्ट्रपति पुनले नेता वैद्यको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।
उनी नर्भिक अस्पतालमा करिब १० मिनेट बसेका थिए । उपराष्ट्रपति निस्किएपछि संघीय सरकारका गृहमन्त्री बालकृष्ण खाँण वैद्यलाई भेट्न नर्भिक अस्पतालमा पुगेका थिए ।