पाकिस्तानी वैज्ञानिक अब्दुल कादिर खानको निधन
एजेन्सी। पाकिस्तानलाई परमाणु शक्ति राष्ट्र बनाउन नेतृत्व गरेका परमाणु वैज्ञानिक अब्दुल कादिर खानको निधन भएको छ । खानको ८५ वर्षको उमेरमा आइतबार बिहान उपचारको क्रममा निधन भएको हो ।
परमाणु प्रविधि बेचेको कारण विवादमा परेका खानले सन् २००४ मा त्यहाँको एक सरकारी टेलिभिजनसँगको अन्तर्वार्तामा उत्तर कोरिया, लिबिया र इरानलाई परमाणु प्रविधि उपलब्ध गराएको स्वीकार गर्दै त्यसका लागि माफी मागेका थिए । खानलाई सन् २००४ मा राजधानी इस्लामाबादमा तीन देशहरूमा प्रसार सञ्जाल चलाएको स्वीकार गरेपछि घरमा नै कडा नजरबन्दमा राखिएको थियो ।
सन् २००६ मा खानलाई प्रोस्टेट क्यान्सर भएको थियो तर शल्यक्रियापछि उनलाई समस्या निको भएको थियो । पाकिस्तानी अदालतले उहालाई नजरबन्दबाट रिहा गर्न आदेश दिएपछि फेब्रुअरी २००९ बाट खुला हिँडडुलका लागि अनुमति पाएका थिए ।