दशैंको मुखमा बढ्यो, घिउको मूल्य
काठमाडौं । सरकारी स्वामित्वमा रहेको दूग्ध विकास संस्थान डीडीसी ले दशैंको मुखैमा घिउको उपभोक्ता मूल्य बढाएको छ ।
प्रतिलिटर ९ सय रुपैयाँमा बिक्री भइरहेको तयारी घिउको उपभोक्ता मूल्य एक हजार रुपैयाँ पुर्याइएको छ । बढेको नयाँ मूल्य असोज १ गतेदेखि नै लागू भएको हो ।
सरकारले दशैं तिहार लक्षित सहुलियत पसल कार्यक्रम सञ्चालन गरिरहेको हुँदा कात्तिक २४ सम्म भने बढेको मूल्यमा ५० रुपैयाँ छुट पाइने छ ।
अघिल्ला वर्षका मुख्यपर्वमा उपभोक्तालाई सहुलियतमा घिउ लगायतका दूग्ध पदार्थ बिक्री गरिरहेको डीडीसीले यसपटक भने दशैंको मुखैमा घिउको मूल्य वृद्धि गरेको छ । चाडपर्वमा उपभोक्तालाई सहुलियत दिनु पर्नेमा उल्टै मूल्य वृद्धि गरिनु बदमासी भएको भन्दै अधिकारकर्मीहरुले तत्काल मूल्य वृद्धि फिर्ता लिन माग गरिरहेका छन् ।
आर्थिक वर्षको सुरुवात वा चाडपर्व पछि समयानुकुल मूल्य बढाउन सकिए पनि चाडपर्वको मुखैमा मूल्य बढाएर उपभोक्ताप्रति संस्थानको छबी बिगार्ने काम गरेको छ ।