आजदेखि सुरु भयो थारू समुदायमा जितिया पर्व
काठमाडौं। तराईका आदिवासी थारू समुदायका महिलाहरुको जितिया पर्व आजदेखि प्रारम्भ भएको छ ।
असोज कृष्णपक्षको सप्तमी तिथि मंगलबार परेकाले थारु महिलाहरुले नजिकैको नदी, जलाशय र इनारमा गई नुहाएर व्रत प्रारम्भ गर्छन् ।
मंगलबार सप्तमी तिथिमा नुहाउने अर्थात दर खाने, बुधबार व्रत बस्ने र बिहीबार बिसर्जन गर्ने गर्छन् । विवाहित थारु महिलाहरु जितियामा माइत जान्छन् भने अविवाहित महिलाहरु ससुरालीमै भए पनि व्रत बस्छन् ।
वर्तको पहिलो दिन मंगलबार वर्तालु महिलाले स्थानीय जलासयमा गएर स्नान गरेर जलासयकै छेउमा घिरौँलाको पातमा पिना, तेल, सिन्दुर चढाएर पूजा गर्ने गर्छन्।
साथै जलासय वा कुवाबाट फर्केर घर आउँदा आफ्नो कूल देवताको ठाउँलाई लिपपोत गरेर पूजाआजा गर्ने गर्छन् । आफ्ना सन्तान तथा परिवारको सुस्वास्थ्य र सुरक्षाको कामना गर्दै विशेष गरी थारु महिलाले यो वर्ष भने तिथि अनुसार ३८ घण्टा उपास बस्नु पर्ने देखिन्छ।
यो वर्ष अष्ठमी तिथि दिउँसैबाट सुरु हुने भएकाले व्रत चाडै बस्नु पर्ने र उपास र उपवासको समय लम्बिएको हो । यो वर्ष जितियाको तिथि र मिति दिउँसैबाट प्रारम्भ हुने भएकाले व्रतालुहरुलाई व्रतको समय बढी बस्नु पर्ने देखिन्छ। किनकी व्रत रातिको समयमा बिसर्जन गर्नुपर्ने देखिन्छ । तर सूर्य बिहान उदाउने भएकाले सूर्यको पूजा नगरी व्रत कसरी तोड्ने प्रश्न आउँछ। जितिया सूर्यको छोरा जितमहान भगवानको पूजाअर्चना गर्ने चलन छ।
उक्त दिन महिलाहरु गाउँको एकै ठाउँमा जम्मा भई भगवान जितबहानका कथा श्रवण गर्ने तथा गीत भजन गाउने चलन रहेको छ। जितिया तराईका पश्चिम नवलपरासीदेखि पूर्व झापासम्मका थारु महिलाका साथै गैरथारु महिलाहरु (मधेशी, दलितलगायत अन्य) पर्वको अवसरमा ठाउँ-ठाउँमा भव्य जितिया मेलाको समेत आयोजना गरेका छन् ।
काठमाडौंमा भने थारु महिलाहरुले दुई ठाउँमा जितिया महोत्सवको आयोजना गरेका छन्। थारु महिला समाजले ललितपुरको टीकाथलीस्थित मोटेश्वर सामुदायिक भवनमा जितिया कार्यक्रमको आयोजना गरेका छन् भने थारू महिला सभा काठमाडौँ उपत्यका समितिले कोरोनाको कारण देखाउँदै भर्चुअल माध्यमबाट जितियाको आयोजना गर्न लागेका हुन।
पर्वको अन्तिम दिन अर्थात नवमी तिथिका दिन वर्तालु महिलाहरु पुनः नदी, पोखरी तथा जलासयमा स्नान गरी घरमा आएर चौका लगाइ उक्त पवित्र चौकामा चिउरा, दही तथा सखरको प्रसाद बनाई अर्घ्य दिएर पर्वको समापन गर्ने गरिन्छ।