सकियो नेकपा एमाले बैठक, यस्तो भयो निर्णय
काठमाडौं । नेकपा एमालेको केन्द्रीय समिति बैठक सकिएको छ । बैठकमा विधान महाधिवेशनसँग सम्बन्धित तीन दस्तावेजमा छलफल भएको जनाएको छ। छलफलका क्रममा उठेका प्रश्नहरुको नेताहरुले जवाफ दिएपछि बैठक सकिएको हो ।
आइतबार च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा बसेको बैठकले स्थायी कमिटीबाट पारित भएर आएका अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रस्ताव र उपमहासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्ताव पारित भएको हो । बैठकमा आएका सुझावहरुलाई समावेश गर्ने गरी ती दस्तावेज पारित भएको हो।
यसैबीच पार्टीभित्र १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै नेताहरुले असन्तुष्टि जनाएपछि त्यसबारे छलफल गर्न एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । आज बसेको केन्द्रीय समिति बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले १० बुँदेबारे छलफल गर्न सोमबार ११ बजे स्थायी समिति बैठक बोलाएको जानकारी दिएका हुन् ।
त्यस्तै आजको बैठकले पास गरेको प्रतिवेदन १५ असोजमा गोदाबरीमा हुने विधान महाधिवेशनमा पेश गरिनेछ । अधिवेशनमा देशभरबाट ५ हजार नेता कार्यकर्ताको सहभागिता हुने उनले बताए । बैठकले लगानी गर्दा स्रोत खुलाउनुनपर्ने सरकारको निर्णयको विरोध जनाएको छ । साथै उक्त निर्णय फिर्ता लिन आग्रह गरिएको छ ।