१२ बैशाख २०८१, बुधबार

थाक्रे स्थित रानीझरनामा पाँच सय सिट क्षमताको सेमिनार हल सहितको क्यानोनिङ रिसर्च सेन्टर बन्दै

सांसद त्रिपाठीद्वारा शिलान्यास



धादिङ । धादिङको थाक्रे गाउँपालिका वडा नं.६ स्थित रानीझरना क्षेत्रमा पाँच सय सिट क्षमताको सेमिनार हल सहितको क्यानोनिङ रिसर्च सेन्टर निमार्ण हुने भएको छ ।

नेपाल सरकारको विशेष अनुदानमा निर्माण गर्न लागिएको सो भवनको सोमबार गाउँपालिकाद्वारा आयोजित कार्यक्रममा धादिङ क्षेत्र नं.१ का सांसद भुमि त्रिपाठीले सो भवनको शिलान्यास गरेको प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य रामेश्वर कार्कीले जानकारी दिए ।

५ करोड रुपियाँ लागत अनुमानमा वोलपत्र आव्हान गरिएको सो भवन ४ करोड ७ लाख रुपियाँमा गौरेश्वर निर्माण सेवा प्रालि र आएनसी जेभिले निर्माणको जिम्मा पाएको छ ।

शिलान्यास समारोहमा प्रमुख अतिथि सांसद त्रिपाठीले कोभिडका बीचमा पनि विकास निर्माणका कामहरु नरोकिकन अगाडी बढाइएको बताएका छन् । त्रिपाठीले भने, ‘हामी समृद्धिको यात्रामा छौं ।’ जस्तोसुकै प्रतिकुल अवस्था भए पनि अनुकुलता खोज्दै अगाडी बढ्ने परम्परा अनुरुप आज यो शिलान्यास गरी निर्माण कार्यलाई तिब्रता दिन खोजिएको बताए । निर्माण व्यवसायिलाई समयमै गुणस्तरीय काम सम्पन्न गर्न समेत त्रिपाठीले अनुरोध गरेका छन्।

कार्यक्रमको अध्यक्षता गर्दै गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले थाक्रेको गौरवको परियोजना भएकोले समृद्धिसंग जोडेर अगाडी बढाइरहेको बताए । उनले भने ‘आज खाली जमिनमा निर्माण भइरहेका परियोजना मात्र हेर्दा केही नदेखिन सक्छ, भोली यो निर्माण सम्पन्न भइसकेपछि समृद्धिसंग जोडिन थालेपछि सबैको आकर्षण बन्नेछ र यसले यहाँ रोजगारी र स्वरोजगार सृजना गर्नेछ ।’

 



प्रतिक्रिया दिनुहोस !